नेपाली कांग्रेस पोखरा महानगर सभापतिमा सुरेन्द्रमान बिजुक्छे विजयी
पोखरा । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत पोखरा महानगर समितिको सभापति पदमा सुरेन्द्रमान बिजुक्छे विजयी भएका छन् । बुधबार सम्पन्न मतगणनाको परिणाम अनुसार सभापतिमा विजयी भएका बिजुक्छेले ६ सय ८७ मत प्राप्त गरे भने प्रतिस्पर्धी सन्तोष पौडेलले ३ सय १७ र अर्का प्रतिस्पर्धी गणेशबहादुर थापाले ३ सय १५ मत प्राप्त गरेका थिए । निर्वाचन समितिले दिएको जानकारी अनुसार महानगर समितिको सभापति एवम् पदाधिकारीको निर्वाचनमा १ हजार ४ सय ४८ मतदाता रहेकामा १ हजार ३४१ मत खसेको थियो ।
सभापति पदका लागि कांग्रेसको पोखरा महानगर समितिका वर्तमान सभापति सुरेन्द्रमान बिजुक्छे, वर्तमान सचिव गणेशबहादुर थापा र पोखरा–६ का निवर्तमान वडा सभापति सन्तोष पौडेल चुनावी मैदानमा उत्रिएका थिए । बिहीबार बिहान १ बजे मतगणनाको अन्तिम परिणाम सार्वजनिक भएको थियो । विजेता बिजुक्छे यस अगाडि पनि कांग्रेस पोखरा महानगर समितिको सभापतिको जिम्मेवारीमा थिए ।
महानगर कार्यसमितिको उपसभापति पदमा ९ सय २० मत प्राप्त गरेर किर्तिबल्लभ त्रिपाठी विजयी भएका छन् भने प्रतिस्प्रधी मिनप्रसाद भट्टराईले ३३१ मत प्राप्त गरेका थिए । समितिको महिला उपसभापति पदमा सुजिता तामाङ र अम्बिका ढुंगानाको बीचमा प्रतिस्पर्धा भएको थियो । महिला उपसभापति पदमा सुजिताले ६ सय ८२ मत पाएर विजयी हुँदा ढुंगानाले ६०८ मत प्राप्त गरेकी थिइन् । तामाङ पोखरा महानगरपालिका(१३ की वडा सदस्य हुन् भने ढुंगाना कांग्रेस पोखरा महानगर समितिको सदस्य एवम् नेपाल महिला संघ कास्कीकी महानगर समितिको सभापति समेत हुन् ।
कांग्रेस महानगर समितिको सचिव पदमा धनन्जय पौडेल निर्विरोध निर्वाचित भएका छन् । उनी यस अगाडि महानगर समितिको सदस्य थिए । सचिव पदमा पौडेल निर्विरोध भए पनि सहसचिव पदमा दामोदर पराजुली र थानेश्वर तिवारीको बीचमा प्रतिस्पर्धा भएको थियो । पराजुलीले ७ सय १३ मत पाएर विजयी भएका छन् भने तिवारीले ५ सय ६० मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसको पोखरा महानगर समितिका अन्य पदमा भने निर्विरोध निर्वाचन भएको थियो ।

लेखकको सम्वन्धमा