चर्चामा

मनसुनजन्य विपदमा परी सबैभन्दा बढी मानवीय क्षति गण्डकीमा

मनसुनजन्य विपदमा परी सबैभन्दा बढी मानवीय क्षति गण्डकीमा
0 0
Read Time:5 Minute, 24 Second

पोखरा । गत बिहीबारदेखिको अविरल वर्षासँगैको बाढी, पहिरो तथा डुबानबाट गण्डकी प्रदेशमा १८ जनाको मृत्यु भएको छ । देशका अन्य प्रदेशको तुलनामा सबैभन्दा ठूलो मानवीय क्षति गण्डकीमा भएको हो । यस्तै, ४ जना बेपत्ता छन् भने ३ जना घाइते भएका छन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालयले संकलन गरेको विवरणअनुसार बागलुङमा १०, म्याग्दीमा ६ र मनाङमा २ जनाको अकालमा ज्यान गएको हो । बाढीपहिरोका कारण गण्डकीका ११ जिल्लामा गरी १ सय ७९ घरमा पूर्ण क्षति भएको छ भने २६ घरमा आंशिक क्षति छ ।

उता, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार साँझसम्म संकलन गरेको विवरणमा भने देशभरमा २१ जनाको मृत्यु भएको छ । विपद्मा परी पाँच जना बेपत्ता र पाँच जना घाइते भएका छन् ।

बाढीपहिरोबाट देशभर ७ सय ४७ परिवार प्रत्यक्ष प्रभावित भएका छन् । बंगालको खाडीमा उत्पन्न न्यूनचापीय प्रणालीका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न भागमा भारीदेखि अतिभारी वर्षा भएको थियो । पछिल्लो चार दिनमा बाढी र पहिरोको जोखिममा रहेका प्रभावित जिल्लाका करिब दुई हजार नागरिकलाई सुरक्षित स्थानमा सारिएको प्राधिकरणले जनाएको छ । उद्धार गरिएका व्यक्तिका लागि सम्बन्धित जिल्ला प्रशासनको समन्वयमा स्थानीय तहमार्फत आवश्यक बन्दोबस्ती तथा राहतको व्यवस्था गरिएको छ ।

४ दिनमा देशभरका १८६ स्टेसनमा १०० मिलिमिटरभन्दा बढी कुल वर्षा मापन भएको छ । सबैभन्दा बढी नवलपुर डेढगाउँमा ५४४ दशमवल २ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै कास्कीको पञ्चासेमा ५०० दशमलव दुई मिलिमिटर र तनहुँको अत्रौलीटारमा ४७२ मिलिमिटर वर्षा भएको छ ।

गण्डकीमा कालीगण्डकी र मस्र्याङ्दी नदीले ठाउँठाउँमा कटान गरी क्षति पुर्‍याएका छन् । पोखरा–बागलुङ भूपी शेरचन राजमार्ग, पोखरा–सुनौली सिद्धार्थ राजमार्ग तथा पोखरा–नौबिसे पृथ्वी राजमार्गका विभिन्न सडकखण्डमा पहिरो खस्दा आवतजावतमा समस्या भएको छ । कालीगण्डकी नदीमा बनेको पर्वत–बागलुङ जोड्ने मालढुंगाको पुल बाढीले भत्किएको छ । कालीगण्डकीको बाढीले स्याङ्जाको कालीगण्डकी गाउँपालिका ७, मिर्मी र गुल्मीको हर्मिचौर जोड्ने पक्की पुल बगाएको छ । पुल बगाउँदा आवतजावतमा समस्या उत्पन्न भएको छ । ठाउँ–ठाउँमा बिजुलीका टावरमा क्षति हुँदा टेलिफोन सम्पर्क हुन सकेको छैन ।

गण्डकीका ११ जिल्लामध्ये ३ दिनयताको बाढी पहिरो र डुबानमा परेर १ सय ७९ घरमा पूर्ण रुपमा क्षति पुगेको छ । त्यस्तै, २६ घरमा आंशिक क्षति पुगेको छ भने २ सय ७० घर जोखिममा छन् । सबैभन्दा बढी पर्वतमा १ सय ६ घर पूर्णरुपमा क्षति भएका छन् । कालीगण्डकी नदीको बहाव बढ्दा पर्वतको जलजला गाउँपालिका ८ स्थित फर्सेमा झण्डै सय घरमा क्षति पुगेको हो । पर्वतपछि घरहरु क्षतिमा सबैभन्दा बढी बागलुङका २३ वटा छन् । नवलपुरमा १५, स्याङ्जामा १३, तनहूँमा १०, म्याग्दीमा ६, मनाङमा ४, कास्की र लमजुङमा एक–एक घरमा क्षति पुगेको छ । पर्वतमा ८२ घर जोखिममा छन् ।

यसैगरी, गण्डकी प्रदेशमा ६ पुल पूर्णरुपमा क्षति भए भने २ पुलमा आंशिक क्षति छ । तनहुँ, गोरखा, स्याङ्जा, मनाङ, पर्वत र म्याग्दीमा एक–एक पुल क्षति भएका हुन् । सरकारी कार्यालयतर्फ, कास्की, गोरखा र स्याङ्जामा एकएक सरकारी कार्यालयमा पूर्णरुपमा क्षति भएको छ । प्रदेशभर ९ सरकारी कार्यालय बाढीपहिरोको जोखिममा छन् ।

बाढीपहिरोको उच्च जोखिमका कारण गण्डकी प्रदेशभर ४ सय १९ घरका १ हजार ४ सय ५१ जना मानिस विस्थापित हुन बाध्य भएका छन् । सबैभन्दा धेरै नवलपुरमा १ सय ६२ घरमा ६ सय १३ जना र पर्वतमा १ सय ६२ घरका ५ सय ४० जना मानिस विस्थापित भएका छन् । स्याङ्जामा २३ घरका ७२ जना, गोरखामा १३ घरका ४३ जना, तनहुँमा १८ घरका ५४ जना, म्याग्दीमा ४ घरका ११ जना, कास्कीमा ३ घरका १० जना मानिस विस्थापित छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %