पर्यटकीय राजधानी पोखरामा धुमधामका साथ मनाइयो छठ पर्व
तस्बिरः ऋषिराम बराल
पोखरा । तराई–मधेसमा विशेष रूपमा मनाइँदै आएको छठ पर्व पछिल्लो समय राष्ट्रिय पर्वका रूपमा विस्तार हुँदै गएको छ । पोखरामा पनि यस वर्ष छठ पर्व विभिन्न चार स्थानमा धुमधामका साथ मनाइएको छ ।
पोखराको नदीपुरस्थित नारायणस्थान मन्दिर, फेवातालको पार्वती घाट, भद्रकालीको माछापोखरी र कालीखोलामा छठको विशेष रौनक देखिएको थियो । रोजगारी तथा व्यवसायका सिलसिलामा पोखरामा बसोबास गर्दै आएका तराईवासी र भारतीय नागरिकसँगै स्थानीय पहाडी समुदायको सहभागिता पनि बढ्दै गएको छ ।
नेपाल–भारत व्यवसायी समितिका अध्यक्ष भुनेश कुमारका अनुसार यस वर्ष करिब १ हजार ५०० जनाले निराहार व्रत बसेका थिए भने व्रतालु तथा दर्शनार्थीसहित करिब १० हजार मानिस घाटमा उपस्थित भएका थिए । पूजास्थललाई केराका बोट, उखु तथा विभिन्न फलफूलले सजाइएको थियो। यद्यपि, अचानक परेको वर्षाका कारण पूजा व्यवस्थापनमा केही कठिनाइ भएको थियो ।
चार दिनसम्म मनाइने छठ पर्वमा पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजा सम्पन्न गर्ने परम्परा छ ।
पारिवारिक सुख, शान्ति, सन्तानको दीर्घायु तथा आरोग्यको कामना गर्दै सूर्यदेव र छठी माताको आराधना गरिने यस पर्वमा पछिल्लो समय देशभरका विभिन्न नदी, ताल तथा जलाशय किनारमा श्रद्धालुको सहभागिता बढ्दै गएको छ ।

लेखकको सम्वन्धमा