फिफा विश्वकपको सेमिफाइनलमा आज इंग्ल्यान्ड-अर्जेन्टिना भिड्दै, मेसी र बेलिङ्घममाथि खेलप्रेमीको विशेष ध्यान
काठमाडौं । फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा आज फुटबलका दुई परम्परागत प्रतिद्वन्द्वी इंग्ल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदैछन् । विश्व फुटबलकै सबैभन्दा रोमाञ्चक प्रतिस्पर्धामध्ये एक मानिने यी दुई टोलीबीचको खेलले खेलप्रेमीको विशेष ध्यान तानेको छ ।
विश्वकप इतिहासमा यी दुई टोलीबीचको प्रतिस्पर्धा केवल खेलकुदमा सीमित छैन । फुटबलसँगै राजनीतिक इतिहाससमेत जोडिएकाले इंग्ल्यान्ड-अर्जेन्टिना भिडन्तलाई विशेष चासोका साथ हेरिन्छ ।
सन् १९८६ को विश्वकप क्वार्टरफाइनलमा डिएगो म्याराडोनाको चर्चित ‘ह्यान्ड अफ गड’ गोल र उत्कृष्ट व्यक्तिगत प्रदर्शनको मद्दतमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई पराजित गरेको थियो । फकल्यान्ड युद्धको पृष्ठभूमिसँग जोडिएर उक्त जित अझ चर्चित बनेको थियो । त्यस्तै, सन् १९९८ को विश्वकपमा डेभिड बेकह्यामले डिएगो सिमियोनीमाथि प्रहार गरेपछि रातो कार्ड पाएका कारण पनि यी दुई टोलीको प्रतिस्पर्धा स्मरणीय मानिन्छ ।
उपाधि रक्षा अभियानमा रहेको अर्जेन्टिना लगातार दोस्रो विश्वकप उपाधि जित्ने लक्ष्यमा छ भने इंग्ल्यान्ड १९६६ यताकै पहिलो विश्वकप उपाधिको खोजीमा छ । इंग्ल्यान्डले पछिल्ला वर्षहरूमा विश्वकप र युरो प्रतियोगितामा राम्रो प्रदर्शन गरे पनि उपाधि जित्न सकेको छैन ।
अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले सेमिफाइनललाई विशेष खेलको रूपमा वर्णन गर्दै टोली शतप्रतिशत प्रदर्शनका साथ फाइनल पुग्न प्रयासरत रहने बताएका छन् ।
अर्जेन्टिनाको सेमिफाइनल यात्रा भने सहज रहेन । नकआउट चरणका तीनवटै खेलमा टोलीले कठिन संघर्ष गर्दै जित निकालेको थियो । केप भेर्डे, इजिप्ट र स्विट्जरल्यान्डविरुद्ध अतिरिक्त समयसम्म खेल लम्बिएको थियो ।
यता, इंग्ल्यान्डले भने प्रभावशाली प्रदर्शन गर्दै अन्तिम चारमा स्थान बनाएको छ । प्रशिक्षक थोमस टुचेलको टोलीले मेक्सिको र नर्वेलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो ।
इंग्ल्यान्डका युवा मिडफिल्डर जुड बेलिङ्घम उत्कृष्ट लयमा छन् । उनले नकआउट चरणका दुई खेलमा चार गोल गरेका छन् । कप्तान हेरी केनसँगको उनको साझेदारी इंग्ल्यान्डको मुख्य शक्ति बनेको छ ।
अर्जेन्टिनाको आशा भने पुनः मेसीमै केन्द्रित छ । जारी विश्वकपमा आठ गोल र दुई निर्णायक पास दिएका मेसी गोल्डेन बुटको दौडमा अग्रस्थानमा छन् । स्विट्जरल्यान्डविरुद्धको क्वार्टरफाइनल बाहेक उनले सबै खेलमा गोल गरेका छन् ।
अर्जेन्टिनाले लगाउनेछ अवे जर्सी
अर्जेन्टिनाले इंग्ल्यान्डविरुद्धको सेमिफाइनलमा परम्परागत सेतो-निलो धर्के जर्सीको सट्टा अवे जर्सी लगाएर खेल्ने भएको छ । टोलीको अनुरोधपछि फिफाले अवे जर्सी प्रयोग गर्न अनुमति दिएको हो ।
इंग्ल्यान्ड भने आफ्नो परम्परागत सेतो जर्सीमै मैदान उत्रिनेछ । सन् १९६६ र २००२ को विश्वकपमा इंग्ल्यान्डसँग पराजित हुँदा अर्जेन्टिनाले परम्परागत जर्सी लगाएकाले यसपटक फरक जर्सी प्रयोग गर्ने निर्णय गरिएको बताइएको छ ।

लेखकको सम्वन्धमा