भोटेकोशी/त्रिशूली बाढी पीडितलाई सार्वजनिक नभए निजी जग्गा किनेर दिनुपर्छ : गगन थापा
पोखरा । नेपाली कांग्रेसका सभापति गगन थापा भोटेकोशी–त्रिशूली बाढी प्रभावितको अवस्था बुझ्न आइतबार रसुवा, नुवाकोट र धादिङका विभिन्न ठाउँमा पुगेका छन् ।
उनी भोटेकोशी–त्रिशूली बाढीपीडितको अवस्था बुझ्न र स्थानीयसँग कुराकानी गर्न दोस्रो पटक त्यस क्षेत्रमा पुगेका हुन् ।
यसअघि उनी राहत वितरणकै क्रममा उक्त क्षेत्रमा पुगेका थिए ।
यसपटक भने पुनर्स्थापनाका विषयमा उनले स्थानीयसँग कुराकानी गरेका छन् ।
सो क्रममा उनले बाढीपीडितका लागि दीर्घकालीन बसोबासको व्यवस्था गर्न सार्वजनिक जग्गाको खोजी गर्नुपर्ने र सार्वजनिक जग्गा नभएका क्षेत्रमा राज्यले निजी जग्गा खरिद गरेर भए पनि व्यवस्थापन मिलाउनुपर्ने बताए ।
‘अब बन्ने सडक कहाँबाट कहाँसम्म बन्ने हो, पहिले त्यो टुंगो हुनुपर्ने देखिन्छ। बाटो बन्न समय लाग्ला, तर यहाँबाट बन्छ भन्ने टुंगो भइसकेपछि बस्ती कहाँ–कहाँ बस्ने भन्ने कुरा आउँछ । रसुवा, नुवाकोट र धादिङमा सार्वजनिक जग्गा कहाँ–कहाँ छ भन्ने तथ्यांक छन्, खोज्न मिलिहाल्छ, समय लाग्दैन,’ उनले भने, ‘सार्वजनिक जग्गा छैन भने निजी जग्गा किनेर दिनुको विकल्प छैन ।
बाढीपहिरो, भूकम्पलगायत विपद्का बेला सुरूमा सबैले चासो राखे पनि विस्तारै ती विषय ओझेलमा पर्दा प्रभावितहरू समस्यामा पर्ने गरेको उनले बताए । बाढी प्रभावित क्षेत्रको अवलोकन गरेपछि प्रतिवेदन तयार पारेर सरकारलाई उपलब्ध गराउने पनि उनले बताए ।
विपद्पछि आफू रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा पुगेको उनको भनाइ थियो। तर, बाढी प्रभावितको पुनर्स्थापनामा संघीय सरकार उदासीन देखिएकाले आफू दोस्रो पटक प्रभावित क्षेत्रमा आएको उनले बताए ।
‘म अहिले यहाँ आएको कारण खासगरी संघीय सरकारमा के धारणा रह्यो भने विपद्पछि जे गर्नुपर्ने हो, गरिसक्यौँ, तल कुनै पनि समस्या छैन र सामान्य हिसाबले भइहाल्छ भन्ने जसरी भान परेको हो वा भान पार्न खोजेको हो, थाहा छैन । यहाँका साथीहरूसँग कुरा गर्दा विषयवस्तु थाहा भइहाल्थ्यो, तैपनि आफैँ अवलोकन गरेर आउँछु भनेर आएको हुँ,’ उनले भने ।
उनले धादिङस्थित फुर्केखोलानजिकै पुल हाल्ने तयारी भइरहेको पनि बताए । ‘यहाँ पक्की पुल वा बेलिब्रिज बनाउन सरकारले तत्काल काम सुरु गर्नुपर्छ। अहिले राख्न लागेको पुल चैतपछि सञ्चालन गर्न गाह्रो देखिन्छ,’ उनले भने । भदौ १० गते भोटेकोशी/त्रिशूली बाढी जाँदा ठूलो जनधनको क्षति भएको थियो ।

लेखकको सम्वन्धमा