चर्चामा

कांग्रेसको लेटरप्याड, झण्डा र ‘रुख’ चिह्नको अनधिकृत प्रयोग गर्नेलाई पार्टीले कारबाही गर्ने

कांग्रेसको लेटरप्याड, झण्डा र ‘रुख’ चिह्नको अनधिकृत प्रयोग गर्नेलाई पार्टीले कारबाही गर्ने
0 0
Read Time:9 Minute, 46 Second

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको नामसहितको लेटरप्याड, चारतारे झण्डा र चुनाव चिह्न ‘रुख’ को अनधिकृत प्रयोग गरी भेला तथा महाधिवेशनका नाममा गतिविधि गर्ने व्यक्ति वा समूहविरुद्ध कानुनी कारबाही अगाडि बढाउने निर्णय गरेको छ । पार्टीको मंसिर ८ गतेदेखि सुरु भई मंसिर ११ गते केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो ।

केही व्यक्ति तथा समूहले पार्टीको नाम, लेटरप्याड, ब्यानर, झण्डा र चुनाव चिह्नको अनधिकृत प्रयोग गरी विभिन्न गतिविधि सञ्चालन गर्दै आएकोप्रति बैठकले गम्भीर ध्यानाकर्षण जनाएको छ । यस्ता कार्यले पार्टीको वैधानिक पहिचान र संस्थागत मर्यादामा आँच पुर्‍याउनुका साथै आम नागरिक, सदस्य तथा शुभेच्छुकमा भ्रम सिर्जना गरेको कांग्रेसको ठहर छ । अनधिकृत गतिविधि नगर्न र सामाजिक सञ्जाल वा अन्य माध्यमबाट भ्रामक प्रचारप्रसार नगर्न पार्टीले आग्रह गरेको छ । आग्रहविपरीत गतिविधि जारी राखे पार्टीको विधान र प्रचलित नेपाल कानुनबमोजिम कारबाही गरिने महामन्त्री प्रदीप पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । दर्ता भएको राजनीतिक दलको पहिचान जोगाउन र अनधिकृत प्रयोग रोक्न निर्वाचन आयोगलगायत अधिकारप्राप्त निकायले कानुनी दायित्व निर्वाह गर्नुपर्ने अपेक्षासमेत बैठकले गरेको छ ।

विसं २००३ सालमा स्थापित नेपाली कांग्रेसको २०८२ पुस २७ देखि ३० गतेसम्म सम्पन्न विशेष महाधिवेशनको म्यान्डेट तथा विधानको धारा ४३ बमोजिम २०८३ असोज १६ देखि २३ गतेसम्म १५ औँ नियमित महाधिवेशन सम्पन्न भएको थियो । सो महाधिवेशनबाट गगनकुमार थापाको सभापतित्वमा २ सय ३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको हो । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम केन्द्रीय कार्यसमितिमा भएको परिवर्तन र विधान संशोधनको विवरण निर्वाचन आयोगबाट २०८३ मंसिर ८ गते अद्यावधिक भइसकेको कांग्रेसले प्रस्ट पारेको छ ।

बैठकले सरकारका पछिल्ला गतिविधि र कार्यशैलीप्रति गम्भीर आपत्ति जनाउँदै संसद्, सार्वजनिक मञ्च र लोकतान्त्रिक विधिबाट सशक्त प्रतिपक्षीय भूमिका निर्वाह गर्न संसदीय दललाई निर्देश गरेको छ । संसद्लाई छलेर अध्यादेशमार्फत शासन चलाउन खोजेको तथा राष्ट्रपति र संवैधानिक निकायको अवमूल्यन गरेको आरोप कांग्रेसले लगाएको छ । प्रेस स्वतन्त्रता र भदौ २३ तथा २४ का घटनासँग जोडिएका विषयमा बिनाछलफल ल्याइएका अध्यादेश तत्काल फिर्ता लिन र संसद् अधिवेशन बोलाउन माग गरिएको छ । सुनकोशी–मरिन आयोजना प्रकरण र प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसँग जोडिएको मोबाइल प्रकरणको निष्पक्ष छानबिन गर्न तथा भदौ २३ र २४ का घटनाको छानबिन प्रतिवेदन, मानव अधिकार आयोगको प्रतिवेदन र गृहमन्त्रीमाथिको छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न कांग्रेसले माग गरेको छ । नेवाः र दलित समुदायको आत्मसम्मानमा ठेस पुग्ने गरी परामर्शबिनै सूचीकृत गरिएको भन्दै सरकारलाई प्रश्नसमेत गरिएको छ । महँगी नियन्त्रण, पुँजीगत खर्च वृद्धि, स्वास्थ्य बिमा सञ्चालन र सयदिने कार्ययोजनाको प्रगति विवरण सार्वजनिक गर्न बैठकले सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भैरहवा हवाई मार्ग दुईतर्फी सञ्चालन गर्ने सहमति र भोटेकोशी–त्रिशूली बाढीपछिको पुनर्निर्माणका लागि भारतले घोषणा गरेको २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ ९१ खर्ब ५० अर्ब भारतीय रुपैयाँ० बराबरको सहयोग प्याकेजको कांग्रेसले स्वागत गरेको छ । सो प्याकेजमा ५६ अर्ब रुपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण समावेश छ । आइआइटी मद्राससँगको सहकार्यमा नेपालमा आइआइटी क्याम्पस स्थापना, स्टार्टअप र खेलकुद क्षेत्रमा सहकार्य विस्तार गर्ने पहल सकारात्मक रहेको बैठकले ठहर गरेको छ । तर, प्रधानमन्त्रीले पदमा आउनुअघि र पछि सीमाका विषयमा उत्तेजक अभिव्यक्ति दिए पनि कूटनीतिक संवादमा उक्त विषयलाई प्रवेश नै नगराई फर्किएर दोहोरो चरित्र देखाएको कांग्रेसको आरोप छ । जारी संयुक्त वक्तव्य र संयुक्त दूरदृष्टि पत्रमा सीमाजस्तो संवेदनशील विषयलाई सामान्य रूपमा प्रस्तुत गरिएको भन्दै कांग्रेसले उच्चस्तरीय कूटनीतिक पहलको माग गरेको छ ।

भोटेकोशीमा बाढी गएको तीन महिना बित्दासमेत पुनर्निर्माणमा सरकारले हेलचेक्र्याइँ गरेको कांग्रेसको ठहर छ । भोटेकोशी, बुढीगण्डकी र कालीगण्डकी पर्वत जलजला क्षेत्रका बाढी प्रभावितलाई तत्काल सुरक्षित आश्रय र घरभाडा सहायता दिन माग गरिएको छ । केरुङ भन्सारसम्मको सडक रेखांकन गरी जोखिमयुक्त बस्तीलाई वैकल्पिक जग्गा दिन आवश्यक परे निजी जग्गा किनेर भए पनि व्यवस्था गर्न कांग्रेसले आग्रह गरेको छ । बाढी प्रभावित क्षेत्रको समन्वयका लागि केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य मोहन आचार्यको संयोजकत्वमा गठित समितिमा प्रभावित क्षेत्रका सांसद, केन्द्रीय सदस्य र विज्ञ थप गरी जिम्मेवारी दिइएको छ ।

भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न अध्यादेशको बाटो छोडेर विधायिकाबाट स्थायी कानुन बनाउन कांग्रेसले माग गरेको छ । विगतमा संसदीय समितिबाट अघि बढाइएको भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ लाई पारित गरी कार्यान्वयन गर्नुपर्ने पार्टीको अडान छ । बस्ती हटाउने नाममा पर्याप्त पूर्वतयारी र वैकल्पिक आवासबिनै बल प्रयोग गर्दा महिला, बालबालिका र ज्येष्ठ नागरिकले पीडा भोग्नुपरेको तथा मानवीय क्षति र आत्महत्याका घटना भएको भन्दै कांग्रेसले दुःख व्यक्त गरेको छ । सर्वोच्च अदालतको आदेशबमोजिम हदबन्दीभन्दा बढी जग्गा राख्नेको विवरण सार्वजनिक गरी सरकारी नाममा ल्याउन र मुक्त कमैया, हलिया, हरुवाचरुवा तथा कम्लहरीको तत्काल पुनःस्थापना गर्न बैठकले माग गरेको छ ।

बैठकले ‘हामी तयार छौँ’ अभियानको अवधारणापत्र स्वीकृत गर्नुका साथै नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम सञ्चालन कार्यविधि, २०८३ परिमार्जनसहित पारित गरेको छ । केन्द्रीय कार्यसम्पादन समिति, अनुशासन समिति र लेखा समिति गठन गर्ने अधिकार सभापतिलाई प्रत्यायोजन गरिएको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानप्रति ऐक्यबद्धता जनाउँदै देशका ६ हजार ७ सय ४३ वटै वडामा सचेतना कार्यक्रम गर्न पार्टी संरचनालाई निर्देशन दिइएको छ । साथै, लैंगिक समानता, अपांगता तथा सामाजिक समावेशीकरण प्रतिष्ठान स्थापना गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %