चर्चामा

तेस्रो प्रयासमा सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन, फाइनलमा जर्ज मन्सेको शतक

तेस्रो प्रयासमा सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन, फाइनलमा जर्ज मन्सेको शतक
0 0
Read Time:4 Minute, 30 Second

पोखरा । लुम्बिनी लायन्सलाई १० विकेटले हराएर सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ । लगातार दुई पटक फाइनल पुगेर पनि उपाधिविहीन बनेको सुदूरपश्चिमले तेस्रो प्रयासमा पहिलो पटक च्याम्पियन बन्ने इतिहास रच्यो । योसँगै लगातार तीन पटक फाइनल पुग्ने सुदूरपश्चिम पहिलो टोली बन्यो ।

फाइनलमा सुदूरपश्चिमको जितका मुख्य नायक स्कटल्यान्डका ओपनर जर्ज मन्से बने । उनले ५४ बलमा अविजित १२५ रन बनाए । उनको पारीमा ८ चौका र ८ छक्का थिए । लुम्बिनीले दिएको १५६ रनको लक्ष्य पछ्याउने क्रममा मन्सेले विनोद भण्डारीसँग पहिलो विकेटका लागि अविजित १५८ रनको साझेदारी गरे । कुनै विकेट नगुमाई टोली लक्ष्यसम्म पुग्यो ।

मन्से एनपीएलको फाइनलमा शतक बनाउने पहिलो खेलाडी बने । यो तेस्रो संस्करणको तेस्रो शतक हो । समग्र एनपीएल इतिहासमा भने यो छैटौं शतक हो । यसअघि तेस्रो संस्करणमा पोखरा एभेन्जर्सका युवराज सम्रा र चितवन राइनोजका कमिल मिशाराले शतक बनाएका थिए । तर फाइनलमा मन्सेले बनाएको शतक एनपीएल इतिहासकै यादगार व्यक्तिगत प्रदर्शनमध्ये एक बन्यो ।

सुदूरपश्चिमका लागि यो जित लुम्बिनीविरुद्ध लगातार तीन हारको जवाफ पनि थियो । दोस्रो संस्करणको फाइनलमा सुदूरपश्चिम लुम्बिनीसँग ७ विकेटले हारेको थियो । तेस्रो संस्करणको पहिलो खेल र पहिलो क्वालिफायरमा पनि लुम्बिनीले नै सुदूरपश्चिमलाई हरायो । एउटै सिजनमा दुई पटक हारेपछि फाइनलमा लुम्बिनीलाई हराउनु प्रतिष्ठाको विषय बनेको थियो । निर्णायक खेलमा ब्याटिङ, बलिङ र समग्र प्रदर्शनमा सुदूरपश्चिम एकपक्षीय रूपमा उत्कृष्ट रह्यो ।

तेस्रो संस्करणको यात्रा सुदूरपश्चिमले पहिलो खेलमै लुम्बिनीसँग हारेर सुरु गरेको थियो । तेस्रो खेलमा विराटनगर किंग्ससँग पनि टोली पराजित भयो । चौथो खेलमा चितवन राइनोजलाई हराएर टोली लयमा फर्कियो । त्यसपछि लिग चरणमा लगातार चार खेल जितेर सुदूरपश्चिम प्लेअफमा पुग्यो । लिग चरणमा दोस्रो भएको सुदूरपश्चिम पहिलो क्वालिफायरमा फेरि लुम्बिनीसँग हार्यो । दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई हराएर टोली तेस्रो पटक फाइनलमा पुग्यो । फाइनलमा लुम्बिनीलाई हराउँदै दुई पटक फाइनल हार्दाको पीडा, तेस्रो फाइनलको दबाब र लुम्बिनीसँगको तीन हारको इतिहास एकै खेलमा मेटियो ।

एनपीएलको पहिलो संस्करण जनकपुर बोल्ट्स र दोस्रो संस्करण लुम्बिनी लायन्सले जितेका थिए । तेस्रो संस्करणमा सुदूरपश्चिम च्याम्पियनको सूचीमा थपियो । पहिलो संस्करणदेखि नै सुदूरपश्चिम बलियो टोलीका रूपमा स्थापित थियो । लिग चरणमा शीर्ष स्थानमा रहेर पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सलाई हराउँदै टोली फाइनलमा पुगेको थियो । तर उपाधि भिडन्तमा जनकपुरसँग हारेर उपविजेतामा सीमित भयो । दोस्रो संस्करणमा पनि लिग चरणमा शीर्ष स्थानमा रहेर पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई हराउँदै टोली लगातार दोस्रो पटक फाइनलमा पुगेको थियो । तर फाइनलमा लुम्बिनीसँग हारेर फेरि उपविजेतामै चित्त बुझाउनु पर्यो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %