चर्चामा

कर्णालीसँग सौदाबाजी गर्दैनौँ : लामिछाने 

कर्णालीसँग सौदाबाजी गर्दैनौँ : लामिछाने 
0 0
Read Time:3 Minute, 54 Second

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कर्णाली प्रदेशको विकासलाई निर्वाचनको मत परिणामसँग जोडेर नहेरिने बताएका छन् । उनले कर्णालीका जनताले रास्वपालाई एक भोट नदिए पनि पार्टी सरकारमा रहुन्जेल प्रदेशको विकास प्राथमिकतामा रहने प्रतिबद्धता जनाएका हुन् ।

शनिबार (मंसिर १२) सुर्खेतमा पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले कर्णालीसँग विकासका नाममा कुनै राजनीतिक सौदाबाजी नगर्ने स्पष्ट पारे । विगतमा राजनीतिक दलहरूले आफ्ना उमेदवारलाई जिताए मात्र विकास गर्ने आश्वासन दिने गरेका उनले आरोप लगाए । उनले रास्वपाले त्यस्तो राजनीतिमा विश्वास नगर्ने बताए ।

“हामी कर्णालीसँग सौदा गर्न आएका होइनौँ । हाम्रा मान्छे जिताइदेऊ अनि मात्र विकास दिन्छौँ भन्ने होइन,” लामिछानेले भने, “हाम्रा उमेदवारलाई जितायो भने पुल बन्छ, बाटो बन्छ भनेर हामी आएका होइनौँ । हामी यहाँका मुद्दालाई केन्द्रमा लिएर जाने प्रतिबद्धताका साथ आएका छौँ ।”

उनले अगाडि भने, “चाहे जीवनभर हारौँ, रास्वपा सरकारमा रहुन्जेल कर्णाली प्राथमिकतामा रहनेछ । कर्णालीले एकजना पनि नपठाओस्, एक भोट पनि नदियोस्, कर्णाली रास्वपाको प्राथमिकतामा रहनेछ ।”

रास्वपाको जन्म रक्तपातबिनाको राजनीतिक विद्रोह गर्ने उद्देश्यले भएको उनले बताए । विगतका विद्रोहले कर्णालीमा ठूलो मानवीय क्षति पुर्‍याएको उनले उल्लेख गरे । कसैको कोख नरित्याई, कुनै दिदीबहिनीको सिउँदो नउजाडी र बालबालिकालाई टुहुरा नबनाई पनि परिवर्तन सम्भव रहेको उनको भनाइ थियो ।

“हाम्रो विद्रोह चोकचोकमा थियो, चियापसलमा थियो, चौतारो र घरआँगनमा थियो । तर, त्यसले राजनीतिक आकार लिएको थिएन । त्यसैले रगतको एउटा थोपा पनि नचुहाई शान्त विद्रोह गर्ने उद्देश्यले रास्वपा जन्मायौँ,” उनले भने ।

राजनीति चुनावका निम्ति मात्र नभएको उनले बताए । उनले चुनाव राजनीतिको एउटा पाटो मात्र रहेको उल्लेख गरे । रास्वपा स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताले अपेक्षा गरेअनुसार परिणाम दिन बाँकी रहेको उनको भनाइ थियो ।

कर्णालीमा पार्टीको उपस्थिति र संसदीय प्रतिनिधित्व कमजोर रहेको उनले स्वीकार गरे । उनले प्रदेशका मुद्दालाई राष्ट्रिय राजनीतिमा प्राथमिकताका साथ उठाउने प्रतिबद्धता जनाए ।

यो प्रशिक्षण कार्यक्रमपछि आफू पार्टीका नेता–कार्यकर्ताको घेराबाहिर रहेर दैलेख आसपासका बस्तीमा नागरिकसँग प्रत्यक्ष संवाद गर्न जाने पनि उनले बताए । “म नेताहरूबाट घेरिएर होइन, जनताबाट घेरिन चाहन्छु । म एक्लै जान्छु, तपाईंहरू प्रशिक्षणमा बस्नुस्,” उनले भने ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %