फेरिँदै गएको तीज: संस्कृति कि भड्किलो प्रदर्शन ?
हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीज विशेष गरी महिलाहरूसँग प्रत्यक्ष सम्बन्ध राख्ने पर्व हो । नेपाली समाजमा पारिवारिक सदाचार, भ्रातृत्व र सामाजिक सुस्वास्थ्य अभिवृद्धि गर्न यस पर्वको सांस्कृतिक भूमिका अतुलनीय छ । कुनै कालखण्डमा तीज चेलीबेटीहरूले आफ्ना दुःख, कष्ट, उत्पीडन र व्यथा पोख्ने प्रमुख माध्यम बनेको थियो । भाग्यलाई दोषी मान्दै गीतमार्फत ईश्वरको आराधना गर्ने र व्रत बसेर पूजा-अर्चना गर्ने परम्पराका रूपमा यसलाई मनाइन्थ्यो ।
विगतमा मध्यम तथा विपन्न वर्गका विवाहित महिलाहरूलाई आफ्नो प्राणभन्दा प्यारा माइती जान तीज नै कुर्नुपर्ने बाध्यता थियो । अझ कतिपय महिलाहरूले त तीजमा पनि माइत जान सासू-ससुरा र घरका अभिभावकको अनुमति नपाएर आँसु पिउँदै घरमै खुम्चिनुपर्ने स्थिति हुन्थ्यो । कसैका लागि उत्साह र खुसीको अवसर भए पनि धेरै नेपाली नारीहरूका लागि यो पर्व पीडा र रोदनको विषय बन्थ्यो । आफ्नो मनभित्रका साँचो भावनात्मक अभिव्यक्ति प्रकट गर्न यस पर्वले सांस्कृतिक ढोका खोलेको थियो ।
तीज गीतलाई हाम्रो लोकसंस्कृतिको अभिन्न अङ्ग मानिन्छ । यसको पौराणिक र धार्मिक महत्त्व पनि छ । भगवान् विष्णुसँग विवाह गरिदिने निर्णयविरुद्ध संगिनीहरूले हरण गरेर जङ्गल पुर्याएकी पार्वतीले महादेवलाई पतिका रूपमा पाउन गरेको कठोर व्रत नै ‘हरितालिका तीज’ हो । आफूलाई मन नपरेको वरसँग विवाह नगर्ने र आफ्नो अधिकार स्वयं चयन गर्ने यो पौराणिक प्रसङ्गले आधुनिक लोकतान्त्रिक विवाह पद्धतिको श्रेष्ठतालाई उजागर गर्दछ ।
भाद्र शुक्ल तृतीयाका दिन श्रीमान्को दीर्घायु र स्वास्थ्यलाभको कामना गर्दै निराहार व्रत बसेर शिवजीको पूजा गर्ने परम्परा नै तीज हो । तर, पछिल्लो समय नेपालमा तीजको मौलिक स्वरूप हराउँदै गएको छ ।
आजकाल तीजका नाममा फेसन शो गर्ने, गहना र कपडाको होडबाजी गर्ने र एक दिनको पर्वलाई महिनाभर मनाउने विकृति बढेको छ । घर-आँगन र सार्वजनिक चौतारीमा नाचगान गर्नुको सट्टा पार्टी प्यालेस र क्लबहरूमा डिस्को डान्स गर्ने, पश्चिमा भाकामा मौलिक परम्परालाई विस्थापित गर्ने र भद्दा तथा अश्लील गीत गाएर सस्तो लोकप्रियता कमाउने प्रवृत्ति आम भइसकेको छ ।
यसरी तीज भेटघाट र आत्मीयताभन्दा पनि कपडा र गहना देखाउने प्रतिस्पर्धा बनेपछि मौलिक र सभ्य संस्कृतिका पक्षधर महिलाहरूमा उत्साह घट्दै गएको छ । विगतमा निरङ्कुशता विरुद्ध र राजनीतिक परिवर्तनका लागि चेलीहरूले गाएका जागरणका गीतजस्तै आज पनि सामाजिक, आर्थिक र सांस्कृतिक रूपान्तरणका लागि जागरण फैलाउने गीतहरूको आवश्यकता छ । तर, न्याय, स्वतन्त्रता, स्वाभिमान र समानताको सन्देश दिनुपर्ने ठाउँमा सस्ता माया-प्रितिका गीत गाएर तीजको ऐतिहासिक महत्त्वलाई ओझेलमा पार्ने काम भइरहेको छ । अर्कोतर्फ, लाखौँका सुनका हार र महँगा साडी-ब्लाउजको प्रदर्शनले तीजलाई चरम आर्थिक असमानताको प्रतीक बनाउँदै लगेको छ ।
कसैका लागि तडकभडक र फेसन शो भए पनि बहुसंख्यक नेपाली नारीका लागि यो पर्व अझै पनि विगतका दुःख र वर्तमानका सास्ती सम्झिने क्षण बनिरहेको छ । यद्यपि, मनका भावनालाई गीतमार्फत अभिव्यक्त गर्दै दमन, शोषण, अन्याय र पीडाका विरुद्ध आवाज उठाउने र सामाजिक-राजनीतिक चेतना फैलाउने काममा यस पर्वको योगदान रहँदै आएको छ ।
तडकभडक, विकृति वा आर्थिक असमानताका बाबजुद पनि तीज गीतका माध्यमबाट मनका भावना व्यक्त गर्ने महत्त्वपूर्ण चौतारी हो । दिदी-बहिनी र दाजु-भाइ एकै ठाउँमा भेला भई मिठा परिकारका साथ सांगीतिक माहौलमा आत्मीयता, सद्भाव र सदाचार साटासाट गर्नु नै यस पर्वको वास्तविक सौन्दर्य हो ।
अन्तमा, हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण आमा, बुबा, दिदी-बहिनी तथा दाजु-भाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यस पर्वले मनभित्रका सम्पूर्ण पीडा, अन्याय, शोषण र विस्मयलाई अन्त्य गर्दै सबैमा सुस्वास्थ्य, सुख, शान्ति, दीर्घायु र समृद्धिको ढोका खोलोस् ।

लेखकको सम्वन्धमा