दशैंको टीकाको साइत बिहान १०:२६ बजे
काठमाडौं । यस वर्षको विजया दशमीको टीका लगाउने उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
समितिका अनुसार यस वर्ष कात्तिक ४ गते बुधबार विजया दशमी परेको छ । सोही दिन देवी विसर्जन तथा मान्यजनबाट टीका र जमरा ग्रहण गरिनेछ। देवी विसर्जनको शुभसाइत बिहान ८ बजेर ४९ मिनेटमा रहेको समितिले जनाएको छ ।
विजया दशमीका दिन टीका लगाउँदा टीका लगाइदिने र लगाइमाग्ने दुवै व्यक्ति पश्चिम मोहडा फर्किनुपर्ने समितिले जनाएको छ ।
यस वर्षको बडादशैं असोज २५ गते आइतबार नवरात्रारम्भ तथा घटस्थापनासँगै सुरु हुनेछ। घटस्थापनाको शुभसाइत बिहान ११ बजेर ४७ मिनेटमा रहेको छ ।
समितिका अनुसार उक्त दिन चित्रा नक्षत्र र वैधृति योगसमेत परेकाले घटस्थापनाअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत मानिएको छ ।
त्यसको भोलिपल्ट असोज २६ गते सोमबार बिहान १० बजेर ७ मिनेटमा झण्डा फेर्ने शुभसाइत रहेको छ । झण्डा फेर्दा पश्चिम मोहडा फर्काउनुपर्ने समितिले जनाएको छ ।
त्यस्तै, असोज २९ गते बिहीबार श्रीपचलीभैरव यात्रा हुनेछ भने असोज ३१ गते शनिबार फूलपाती परेको छ ।
फूलपातीका दिन श्री तुलजाभवानी यात्राको शुभसाइत बिहान ७ बजेर ३७ मिनेटमा र स्थिरासनको शुभसाइत बिहान १० बजेर ३९ मिनेटमा रहेको छ ।
कात्तिक १ गते आइतबार महाष्टमी तथा कालरात्रि मनाइनेछ भने कात्तिक ३ गते मंगलबार महानवमी परेको छ ।
कात्तिक ४ गते विजया दशमीका दिन श्री तुलजाभवानी यात्राको शुभसाइत बिहान १० बजेर ५१ मिनेटमा तथा स्थिरासनको शुभसाइत दिउँसो ११ बजेर ५२ मिनेटमा रहेको समितिले जनाएको छ । सोही दिन खड्गयात्रासमेत हुनेछ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले प्रकाशित गरेको २०८३ सालको पञ्चाङ्गअनुसार यस वर्ष विजया दशमी कात्तिक ४ गते बुधबार परेको छ ।

लेखकको सम्वन्धमा