चर्चामा

पौडेल नेतृत्वको प्यानलले घोषणा गर्यो उमेदवारी, २० बुँदे प्रतिबद्धता सार्वजनिक

पौडेल नेतृत्वको प्यानलले घोषणा गर्यो उमेदवारी, २० बुँदे प्रतिबद्धता सार्वजनिक
0 0
Read Time:5 Minute, 23 Second

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनका लागि नरिश्वर शर्मा पौडेल नेतृत्वको प्यानलले उम्मेदवारी घोषणा गरेको छ । ‘नयाँ सोच, नयाँ विचार, समावेशी साझा नेतृत्व’ भन्ने मूल नारासहित चुनावी मैदानमा उत्रिएको प्यानलले ‘सुरक्षित उद्योग र व्यापार, समृद्ध बुटवलको आधार’ भन्ने संकल्पसहित २० बुँदे प्रतिबद्धतापत्र पनि सार्वजनिक गरेको छ ।

प्यानलले संघलाई उद्योगी तथा व्यवसायीको साझा, प्रभावकारी र भरोसायोग्य संस्थाका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ ।

पौडेल नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई, उद्योग उपाध्यक्षमा निर्मित कसजू, वाणिज्य उपाध्यक्षमा बाबुराम विश्वकर्मा, महासचिवमा बसन्तप्रसाद ढकाल, कोषाध्यक्षमा प्रतिक पोखरेल, सचिवमा दीपकप्रसाद चापागाईं र सहकोषाध्यक्षमा कमला पोखरेल पराजुली (मञ्जु) उम्मेदवार बनेका छन् ।

त्यस्तै, एसोसिएट सदस्यतर्फ भानुभक्त खत्री (भानु) उम्मेदवार छन् । उद्योग सदस्यमा सुनिता बन्जाडे, कृष्णप्रसाद माण्डे, ज्ञानबहादुर पुन र लेखनाथ भण्डारीले उम्मेदवारी दिएका छन् ।

वाणिज्य सदस्यतर्फ गणेशप्रसाद भट्टराई, उमेश अमात्य, जगन्नाथ न्यौपाने र रामबहादुर भण्डारी उम्मेदवार छन्। महिला सदस्यमा रेनु श्रेष्ठ र मञ्जु पुरी गिरी तथा खुला सदस्यतर्फ विष्णु घिमिरे पन्त (कमला), दीपक घिमिरे, प्रदीप शाक्य, अलिम दिन, कृष्ण श्रेष्ठ (कलप्रसाद), शिवदेव अर्याल र विष्णु उपाध्यायले उम्मेदवारी घोषणा गरेका छन् ।

२० बुँदे प्रतिबद्धतामा व्यवसाय सुरक्षा र आर्थिक समृद्धि
प्यानलले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा व्यवसायीको सम्मान, व्यापारको सुरक्षा र बुटवलको आर्थिक समृद्धिलाई प्राथमिकतामा राखिएको छ ।

व्यवसाय दर्ता, नवीकरण तथा प्रशासनिक प्रक्रियालाई सरल र पारदर्शी बनाउने, मुख्य बजार क्षेत्रमा पार्किङ र ट्राफिक व्यवस्थापन सुधार गर्ने तथा बन्द हुने वा विस्थापनको जोखिममा रहेका उद्योगको संरक्षणका लागि पहल गर्ने प्रतिबद्धता जनाइएको छ ।

निर्माणाधीन सडक, ढल, खानेपानी र विद्युत् आयोजनालाई समयमै सम्पन्न गराउन सम्बन्धित निकायसँग पहल तथा दबाब दिने विषय पनि प्रतिबद्धतापत्रमा समेटिएको छ ।

व्यवसायीको सुरक्षा व्यवस्था प्रभावकारी बनाउने, बुटवललाई लुम्बिनी प्रदेशको प्रमुख आर्थिक केन्द्रका रूपमा विकास गर्ने तथा पर्यटन र व्यापारबीचको अन्तरसम्बन्ध विस्तार गर्ने लक्ष्य प्यानलले अघि सारेको छ ।

त्यस्तै, डिजिटल भुक्तानी र अनलाइन व्यापारलाई प्रवर्द्धन गर्ने, बैंक तथा वित्तीय संस्थासँग ब्याजदर र कर्जाका विषयमा नियमित संवाद गर्ने तथा भन्सार एवं आयात–निर्यात प्रक्रियालाई सहज बनाउन पहल गर्ने प्रतिबद्धता पनि जनाइएको छ ।

स्थानीय उत्पादनको बजार विस्तार, युवा तथा नयाँ उद्यमीलाई प्रोत्साहन, साना तथा मझौला व्यवसायको संरक्षण र महिला उद्यमीको पहुँच विस्तारलाई पनि प्यानलले प्राथमिकतामा राखेको छ ।

संस्थागत पारदर्शिता कायम गर्ने, लगानी प्रवर्द्धन गर्ने तथा संघभित्र व्यवसायीका समस्या समाधानका लागि एकद्वार सहायता प्रणाली स्थापना गर्ने विषय पनि प्रतिबद्धतापत्रमा समेटिएको छ ।

पौडेल नेतृत्वको टोलीले प्रतिबद्धतापत्रलाई केवल चुनावी घोषणामा सीमित नराखी बुटवलका उद्योगी–व्यवसायीको साझा एजेन्डाका रूपमा कार्यान्वयन गर्ने जनाएको छ । संवाद, सहकार्य, पारदर्शिता र परिणाममुखी कार्यशैलीका आधारमा संघलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै टोलीले उद्योगी तथा व्यवसायीसँग समर्थन माग्दै अत्यधिक बहुमतले विजयी गराउन हार्दिक अपील गरेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %