चर्चामा

कास्कीकोट दरबारमा नवदुर्गा महोत्सव हुने

कास्कीकोट दरबारमा नवदुर्गा महोत्सव हुने
0 0
Read Time:3 Minute, 48 Second

पोखरा । कास्कीकोट दरबार परिसरमा रहेको गुप्तकाली मन्दिरमा राष्ट्र शान्तिको कामनासहित नवदुर्गा महोत्सव आयोजना हुने भएको छ । गुप्तकाली कश्यप धार्मिक क्षेत्र विकास समिति आयोजनामा बडादशैँ अवसर पारेर घटस्थापनादेखि नवमीसम्म महोत्सव सञ्चालन हुन लागेको हो ।

परापूर्वकालदेखि तान्त्रिक तथा वैदिक विधिबाट पूजा हुँदै आएको मन्दिरमा यस वर्ष देशमा बाढीपहिरो तथा अन्य प्राकृतिक प्रकोपबाट मानवीय र भौतिक क्षति नहोस् भन्ने कामनासहित विशेष पूजा गरिने भएको छ । घटस्थापनादेखि विजयादशमीसम्म पुजारीहरू मन्दिरमै बसेर गुप्तकालीको आराधना गर्ने कार्यक्रम रहेको धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष दिलीपविक्रम शाहीले जानकारी दिए ।

घटस्थापनामा विधिपूर्वक कोतघरमा प्रवेश गरी नवदुर्गाभर विशेष चण्डीपाठ तथा दुर्गाकवच पाठ गरिने समितिका सचिव ठाकुरप्रसाद त्रिपाठीले बताए । उनका अनुसार कास्कीकोटस्थित गुप्तकाली मन्दिरमा परापूर्वकालदेखि नै विभिन्न पर्व तथा अवसरमा विशेष धार्मिक गतिविधि सञ्चालन हुँदै आएका छन् ।

यस वर्ष बडादशैंका दिनसम्म कोतघरमा पाणासहितका पुजारीहरूले राष्ट्र शान्तिको कामना गर्दै विशेष पूजा गर्ने कार्यक्रम रहेको छ । मन्दिरमा तान्त्रिक तथा वैदिक दुवै विधिबाट पूजाआजा गरिने सचिव त्रिपाठीले जानकारी दिए । फूलपातीमा रामघाटबाट ल्याइएको फूलको डोली विधिपूर्वक मन्दिरमा भित्र्याइ नवरात्रिकाको तान्त्रिक विधिअनुसार पूजा गरिनेछ । सोही दिन कुँवर समुदायको परम्परागत तथा लोपोन्मुख सैन्य अभ्यास ‘सरुन खेल’ समेत प्रदर्शन गरिने कार्यक्रम रहेको त्रिपाठीले बताए ।

महाअष्टमीको मध्यरातमा कालरात्रिको पूजा गरिनेछ भने महानवमीका दिन पञ्चबलि दिने परम्परा रहेको छ । विजयादशमीका दिन मन्दिरमा टीका ग्रहण गरेपछि फूलपाती तथा अन्य पूजासामग्रीसहित वास्पानी कालिकामा पूजा बिसर्जन गरिनेछ ।

कास्कीकोटमा दशैँ अवसरमा नेपालमै लोपोन्मुख अवस्थामा रहेको सरुन खेल तथा परम्परागत मालश्री धुन प्रस्तुत गरिने सचिव त्रिपाठीले बताए । कोतघरमा दशैँमा बेला बजाइने नगरा, सत्रौँ शताब्दीका ढाल तथा तरबार र तोपसमेत प्रदर्शन गरिने समितिले जनाएको छ ।

गुप्तकाली मन्दिरमा पूजाआजा तथा पञ्चबलिको भाकल गर्न आउने भक्तजनको दैनिक भीड लाग्ने गरेको छ । कास्की राज्यको स्थापनाकालदेखि नै यस मन्दिरमा हरेक दशैँमा विशेष पूजा हुँदै आएको धार्मिक विश्वास छ । यही स्थानका नामबाट ‘कास्की’ को नामकरण भएको भन्ने किंवदन्ती प्रचलित छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %